गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, तल्लो क्षेत्रमा बाढी

केन्द्रभाग मिडिया

फाइल तस्बिर

 

पोखरा ।

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको सो तालमा हिमपहिरो खस्दा त्यसको तल्लो क्षेत्रमा बाढी आएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । उनका अनुसार हिमपहिरो तालमा खस्दा पानी ओभरफ्लो भएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा काठका बगाएको छ भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो र थप सुरक्षा टोली समेत पठाइसकिएको सिडिओ दाहालले जानकारी दिए ।

‘स्थानीयले सुरुमा ताल फुट्यो भनेर खबर गरेको भएपनि ताल फुटेको नभई ताल माथिबाट हिमपहिरो आउँदा पानी ओभरफ्लो भएको हो ।’ उनले भने, ‘अहिले बगेको पानी डेढ दुई घण्टामा पहिलेकै अवस्थामा आउँछ भनेर भनिएको छ । यद्यपी भोलि ताल नै फुट्ने स्थिति भए ठूलो क्षति होला भनेर अलर्ट गराएका छौं ।’

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । उनका अनुसार तालको वरपर बस्ती छैन । चुमनुब्री, धार्चे, आरुघाट र भिमसेन गाउँपालिका लगायत क्षेत्रमा सतर्क रहन भनिएको छ ।

वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दूरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

  • ९ बैशाख २०८१, आईतवार १०:४२ प्रकाशित