पोखरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०८१ सुरु

केन्द्रभाग मिडिया

पोखरा । पोेखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आजदेखि श्रीमद् भागवन सप्ताह ज्ञान महायज्ञ २०८१ सुरु भएको छ । ज्ञान महायज्ञको उद्घाटन अगाडि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो ।

महायज्ञको उद्घाटन गर्दैै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्री विभूषित स्वामी आत्मानन्द गिरी महाराजले धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यस महायज्ञले टेवा पुर्याउने बताए । उनले ज्ञानभुमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभुमि रहेको बताउनुहुदै लोककल्याण तथा विशुद्ध आध्यात्मिक साधानाको उद्देश्यमा केन्द्रित महायज्ञ रहेको उल्लेख समेत गरे ।

ज्ञान महायज्ञका प्रमुख भागवत वाचक हरिहर सन्यास आश्रम, देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्री विभूषित स्वामी ज्ञानान्द सरस्वतीजी महाराज, महेश सन्यास आश्रमका पीठाधिश श्री रमणान्द गिरी महाराज, श्री १००८ स्वामी केशवानन्द गिरीजी महाराज सहित ११ जना स्वामी लगायतको उपस्थित रहेको छ ।

ज्ञानमहायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेल, सह–अध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपाका नेता रविन्द्र मिश्र, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियत अधिकारी लगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुनको साथै विश्वमा शान्ति फैलने बिषयमा जोड दिएका थिए ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता बृद्धि गर्ने हिसाबले आयोजना गरिएको ज्ञानमहायज्ञ बैशाख १० गतेसम्म संचालन हुने छ । बैशाख ३ गतेदेखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुने र १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेक सहित प्रसाद वितरण गरी महायज्ञको समापन हुने आयोजकले जनाएको छ ।

 

 

  • २ बैशाख २०८१, आईतवार २१:०५ प्रकाशित