नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित शुभकामना आदानप्रदान गरेर मनाइँदै

केन्द्रभाग मिडिया

पोखरा ।
विक्रम संवतको पात्रोअनुसार नेपाली नयाँ वर्ष शुभारम्भ भएको छ । आज मध्यरातबाट २०८० साल समाप्त भएर २०८१ साल शुभारम्भ भएको हो ।

हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ शुभकामना आदानप्रदान गरेर मनाउने गर्छन् ।

विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाखमा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। विसं हिन्दू पञ्चांगमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । त्यसअघिको अन्तिम साँझ तथा रात साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त मनाइएको छ ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । पोखराको लेकसाइडमा नयाँ वर्षलाई भव्य स्वागत गरिएको छ ।

 

  • १ बैशाख २०८१, शनिबार ०५:५८ प्रकाशित