पोखरा १२ का ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ ले वडा भित्र बसोवास गर्ने जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै वडा कार्यालय परिसरमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा ३ सय १२ जनाले लाभ लिएको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे ।
बिरामीको सुगर, प्रेसर, मृगौला र मुटुको परीक्षण गरिएको थियो । निशुल्क भिडियो एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे ।

गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो । घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष बास्तोलाले बताए । वडाबासीले स्वास्थ्यप्रति वडा सचेत रहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने वडाध्यक्ष बास्तोलले उद्घोष गरे । ‘जतिपनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइ लिएर आउनुभएको छ उहाँहरुले सामुदायीक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निशुल्क स्वास्थ्य विमा गर्दिन्छौं’, उनले भने ।

ज्येष्ठ नागरिकको मात्रै नभएर बालबालिकाको स्वास्थ्यमा पनि वडाले ध्यान पु¥याएको वडाध्यक्ष बास्तोलाले बताए । बालबालिकालाई मध्यनजर गर्दै अमरसिंह मावि र शितलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना गरिएको छ । दैनिक १० देखि १५ जना विद्यार्थीले स्वास्थ्य सेवा लिइरहेका छन् । यसअघि पनि वडाले महिला लक्षित स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो भने अमेरिकन नर्सिङ एसोसिएशनसँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आइरहेको छ । वडाले अघिल्लो वर्षहरुमा जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने र विभिन्न टोलहरुमा पुगी उक्त कार्यक्रमहरु गर्दा जेष्ठ नागरिकहरुलाई असहज भएपछि यो पटक वडाकार्यालयमानै विशेषज्ञ सहितको शिविर आयोजना गरेको हो ।

शनिबार भएको स्वास्थ्य शिविरमा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापाले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने बताए । उनले सुगर, प्रेसर, कोल्डस्टोर, युरिकएसिड, र थाइराइडले मानव शरीरलाई सताउने बताए । ‘यी रोग कोही पहिला निस्कने कोही पछि निस्कने । जहिले पनि दुख दिइरहेको हुन्छ’, उनले भने, ‘यी रोगले कसैलाई हार्टअट्याक, मष्तिसकघात, किड्नी खराब अवस्था ल्याउँछ ।’अमर पोलिक्लिनक अमरसिंह चोक र यूआरएल हस्पिटलचोकको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । यूआरएलले निशुल्क रगत परीक्षण गरेको थियो । शिविरमा सेवा लिएकाले थप चेकजाँच गर्न चाहेको खण्डमा ३० प्रतिशत छुटमा सेवा दिने यूआरएलका निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ । ‘क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन् । समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने । बेलामै रोग लागेको पत्ता भए सामन्य औषधिले पनि निको हुने पन्तले उल्लेख गरे ।

  • २४ चैत्र २०८०, शनिबार १७:१८ प्रकाशित