पोखरा १३ मा ग्रामीण भेगका जनतालाई गाउमै पुगेर स्वास्थ्य बीमा

केन्द्रभाग मिडिया

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडा अन्तर्गत पर्ने ग्रामीण भेगमा पुगी जनताहरुलाई स्वास्थ्य बीमा गरेको छ । ‘जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा’ भन्ने मुल नाराका साथ वडा कार्यालयले वडा अन्तर्गत पर्ने बिजयपुर, खामघले, डि गाउँ र पोखरी स्वाराका स्थानीयको स्वास्थ्य बीमा गरिएको वडाअध्यक्ष किरण बरालले जानकारी दिए । बरालका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए ।

आफु भाषण भन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुखदुखमा सदैव साथमा रहेको उनले बताए । ‘भाषण होइन काममा विश्वास राख्ने गर्छु । शहरका नागरिकले स्वास्थ्य बीमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्य बीमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बीमा बाट नागरिकलाई लाभ मिल्नेछ ।’, उनले भने ।बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता समेत गरेका छन् । ‘गाउँमा आइराख्दा थोरै समस्या बाटोघाटोको देखे । मेरो कार्यकालसम्म उक्त बाटोघाटोको समस्याको पनि समाधान गर्नेछु ।’, उनले भने । भौतिक विकाससँगै मानविय विकासमा समेत वडा सक्रिय रहेको उनले बताए । सीपमुलक तालिम सिकाई वडामा भएका नागरिकलाई रोजगार दिलाउने बाटोमा समेत अग्रसर रहेको भनाई उनको छ । शिक्षाको क्षेत्रमा समेत वडाले लगानी गरिरहेको छ ।

नेपाली काँग्रेस वडा नं. १३ का इकाई सभापति माधव प्रसाद सिग्देलले वडाको नयाँ अभियानमा स्थानीयले समेत सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले वडाले गाउँका नागरिकको निशुल्क स्वास्थ्य बीमा गराएर उदाहरणीय बनेको बताए । गाउँका मान्छे गाउँमै बस्ने वातावरण मिलाउने तर्फ पनि सोच्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले पोखरा १३ वडाध्यक्षको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । उनले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन् । गाउँका मान्छेको स्वास्थ्य बीमा गराएर वडाले सह्रानिय काम गरेको भनाई उनको छ ।

स्थानीय पोखरी स्वाराका भीम बहादुर दमैले वडाले गाउँमा नै आएर निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएकोमा खुशी लागेको बताए । ‘वडाले गाउँमा नै आएर यसरी निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदा खुशी लागेको छ । सिंहदरबार गाउँमा नै आएको आभाष भएको छ । वडाध्यक्ष लगायत पोखरा १३ का जनप्रतिनिधिलाई धेरै धन्यवाद ।’, उनले भने । पोखरी स्वाराकै सरस्वती घले पनि निशुल्क स्वास्थ्य बीमा कार्ड पाएर खुशी छिन् । अब उनको स्वास्थ्य उपचारका लागि कुनै खर्च लाग्नेछैन । वडाध्यक्ष गाउँमा नै पुगेर निशुल्क स्वास्थ्य कार्ड उपलब्ध गराउँदा खुशी लागेको उनले सुनाइन् ।

  • १७ चैत्र २०८०, शनिबार १८:०३ प्रकाशित