६ केजी ६९ ग्राम सुन र ६ केजी चाँदी सहित पोखराबाट भारतीय नागरिक पक्राउ

६२ लाख ८१ हजार रूपैयाँ नगद बरामद,

केन्द्रभाग मिडिया

पोखरा ।

स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित एक व्यक्ति पोखरामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखरा-२ मोहोरिया टोलबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्ने भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर-११ घर भएका ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

उनका अनुसार मोहोरिया टोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका भौमिकको साथबाट बरामद भएको सुन मध्ये गरगहनाहरू ५ केजी २०० ग्राम, काँचो सुन– ९९९.९० ग्रामको एक ढिका (विस्कुट)– १ थान, ५० ग्रामको १ ढिक्का (विस्कुट) – १ थान, ६ केजी चाँदी र ६२ लाख ८१ हजार रूपैयाँ नगद प्रहरीले बरामद गरेको हो ।

उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको एसपी थापाले जानकारी दिए ।

सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । ‘विभिन्न स्थानबाट निजको पसल तथा निजको कोठाभित्र लुकाइछिपाइ राखेको स्रोत खुलाउन नसकेको सुनका गरगहना तथा काँचो सुन र चाँदी बरामद भएको हो,’ उनले भने ।

एसपी थापाका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद गरिएको छ ।

  • १ फाल्गुन २०८०, मंगलवार २२:३२ प्रकाशित