पोखरामा ज्यान मार्ने धम्की दिदैं करोडौं माग्ने दुई जना पक्राउ

भक्तको भेषमा सच्चाई गई सञ्चालक प्रकाशदिप गैरेसँग ५ करोड माग, रिच किड्स, व्यापारीदेखि शिर्ष नेता लिस्टमा

उमा विक

पोखरा ।

पोखरामा ज्यान मार्ने धम्की दिदैं ५ करोड फिरौती माग्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका २ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा डेरागरी बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल हाल सिमलचौरमै डेरामा बस्दै आएका ४२ वर्षीय दिपक बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

लक्ष्मण र दिपकले पोखरामहानगर पालिका वडा नम्बर १६ लामाचौर घर भई सोही स्थानमा सच्चाई सेवा केन्द्रका सञ्चालक तथा सच्चाई केन्द्र नेपालका केन्द्रिय अध्यक्ष प्रकाश दिप गैरेलाई फोन गरि ज्यान मार्ने धम्की दिँदै पाँच करोड फिरौती माग गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

उनीहरुले फोनमा कुरा गर्दा र म्यासेज पठाउँदा हिन्दी भाषाको प्रयोग गर्ने गरेको एसपी थापाले बताए । लक्ष्मण वैदेशिक रोजगारीका लागि ४ वर्ष कतारमा बसी १ महिना अघिमात्रै नेपाल आएको पाइएको छ ।

उनीहरुले विग मनी विग टार्गेटको प्लानिङ अनुसार यही माघ १३ गते शनिबार भक्तको भेषमा सच्चाईमा गई १–२ घण्टा बसी प्रकाशदिप गैरेको नम्बर लिएर १८ गते फोन र म्यासेजमार्फत धम्की दिदैं रकम मागेका थिए । २० गते शनिबार पुन दुवै जना सच्चाई केन्द्रमा र्ग घटनाको बारेमा बुझेको २३ गते मंगलबार पुन सञ्चाई केन्द्रमा गई आधा घण्टा बसेर फर्केका थिए । धम्कीबारे अनुसन्धान हुदाँ २४ गते हिजो लक्ष्मण र दिपकलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

अनुसन्धानको क्रममा किड्न्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनि,रिच किड्स, नेता, व्यापारी, गुण्डा, भुमाफिया, औद्योगिक माफिया, म्यानपावर माफिया उनीहरुको टार्गेटमा रहेको खुल्न आएको प्रहरीले बतायो ।

दिपकमाथि यस अघि २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धा चलेको र २०७९ सालमा प्रहरी कार्यालय पर्वतमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा चलेको देखिएको प्रहरीले बताएको छ।

के -के बरामद भए ?

लक्ष्मण र दर्जीको कोठाबाट योजना बुनेको ८ पेज कागजको पाना, ३ थान विभिन्न किताब, नोट बुक १ थान, मोबाईल सेट ४ थान, भारतीय सिम १ थान, एनसेलको सिम ३ थान, खुकुरी १ थान, अवैध गाँजा ५ सय ७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो ठुलो मुगा १४ थान, कालो टर्च लाइट २ थान, फलामको हेक्सा ब्लेड १ थान, रन्डा लगाउने मेसिन १ थान र पेन्चिस १ थान बरामद बरामद भएको छ ।

८ पेज कागजमा ‘बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनि, गणतन्त्र राजतन्त्र धर्म निरपेक्षता हिन्दु राष्ट्र, नेता, व्यापारी गुण्डा, भु–माफिया, औधोगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लगायतका योजना लेखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई लागुऔषध सम्बन्धि, अवैध हातहतियार तथा खरखजना, आपराधिक लाभ फिरौती रकम (एक्सटर्सन) सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइने कास्की प्रहरीले जनाएको छ ।

  • २५ माघ २०८०, बिहीबार १५:०१ प्रकाशित