रास्वपा अध्यक्ष लामिछानेसहित १८ विरुद्ध सहकारी ठगी आरोपमा जाहेरी

जहेरी उपर छानविन प्रक्रिया अगाडि बढ्यो : एसपी थापा, पीडक जस्तोसुकै ओहोदाका भएपनि हामीलाई न्याय चाहियो : पीडित

केन्द्रभाग मिडिया

 

पेखरा ।

सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछाने र विगतमा उनी संलग्न ज्ञालेक्सी फोरके टेलिभिजनसहित १८ जना व्यक्ति तथा संस्थाबिरुद्ध कास्की प्रहरीमा जाहेरी परेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट पैसा लगेर तिरेको नदेखिएको भन्दै पीडितहरुले सोमबार प्रहरीमा जाहेरी दिएका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले पुष्टि गरेका छन् । कास्की प्रहरीका अनुसार रास्वपा सभापती लामिछाने र ज्ञालेक्सी टेलिभिजन, दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङ, हरि अधिकारी, नेत्रपाणी बास्तोला लगायतबिरुद्ध जाहेरी परेको हो ।

सहकारी ठगी आरोपमा जाहेरीमा परेका दीपेश पुन पूर्व उप-राष्ट्रपती नन्दकिशोर पुनका छोरा हुन् । त्यस्तै, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, ग्यालेक्सी टेलिभिजन, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल प्रालि, ग्रिजी स्पान रेष्टुरेण्ट काठमाडौं, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिबिरुद्धपनि पीडितहरुले जाहेरी दिएका छन् ।

पीडितहरुले सानो पाइला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, सहारा सहकारी चितवन र समानता सहकारी नेपालगञ्ज बिरुद्धपनि जाहेरी दिएका छन् । यी व्यक्ति तथा सहकारी र संस्थाहरुले सूर्यदर्शन सहकारीको रकम लगेर फिर्ता नगरेको जाहेरीमा उल्लेख छ ।

कास्की प्रहरी प्रमुख थापाले जाहेरी परेको र त्यस उपर छानविन प्रक्रिया अगाडि बढेको केन्द्रखबरलाई बताएका छन् । ‘रवि लामिछानेसहित विभिन्न १८ व्यक्ति एवं संस्था विरुद्ध उजुरी परेको छ । त्यसउपर  छानविन प्रक्रिया अगाडि बढिसकेको छ’ उनले भने ।

जाहेरीकर्ता मध्येका एक किरण श्रेष्ठले आफूहरुको बचत फिर्ताको ज्ञारेन्टीका लागि उजुरी दिएको जानकारी दिए । ‘हामीले खाइ नखाई बचत गरेको रकम डुबेको छ । पीडा दिनेहरु रमाउने तर हामी पीडा सहेर अभावमा बस्ने कुरा भएन । पीडक जस्तोसुकै ओहोदाका हुन्, त्यो हाम्रो चासोको विषय भएन । तर, हामीलाई न्याय चाहियो । हाम्रो रकम फिर्ता पाउनु पर्यो’ उनले भने ।

श्रेष्ठले आधार र प्रमाणकै आधारमा ठगी गर्ने विरुद्ध उजुरी दिएको बताएका छन् । छानविन समितिले दिएको प्रतिवेदन र प्रमाणकै आधारमा उजुरी दिएको उनको भनाई छ । ‘छानविन समितिले दिएको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा दिएको र सो पैसा फिर्ता भएको नदेखिएकाले ती सबै व्यक्ति, संस्था र सहकारीबिरुद्ध जाहेरी दिएका छौं’ उनले भने ।

यसअघि पीडितहरुले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राईसहित १९ जनाबिरुद्ध जाहेरी दिएका थिए । त्यसमध्ये उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य शिवकुमार गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई पक्राउ परेर पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

  • २२ माघ २०८०, सोमबार २१:४७ प्रकाशित