अपराध

प्रहरी जवानले गरे श्रीमती र साढे २ वर्षको छोराको हत्या

केन्द्रभाग मिडिया

रुपन्देही ।

आइतबार बिहान दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन् ।

साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहरी कार्यालय पुगेका छन् ।

प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दबाब दिएका कारण हत्या गरेको बयान दिएका छन् । आइतबार बिहान ७ बजे हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

शनिवार राति कार्यालयबाट बिदा मागेर नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेको खुलेको छ । श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटक पटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरीसमक्ष गरेका छन् ।

आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । उनी प्रहरी सेवामा १० वर्ष पूरा गरेका थिए ।

  • २१ माघ २०८०, आईतवार १५:०३ प्रकाशित