पोखरा ।
गण्डकी प्रदेश सभा संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । प्रदेश सभा सचिवालय आइतबार सभामुख कृष्ण प्रसाद धितालले समितिका सभापतिहरुलाई सपथ खुवाएका हुन् । प्रदेश सभा निमावली २०८० को नियम १५६ बमोजिम सभापतिको निर्वाचन प्रकृया सम्पन्न भइ सभामुख धितालले सपथ गराएका हुन् ।
अर्थ तथा विकास समिति सभापति भोजप्रसाद अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा चम्पादेवी खड्का, सार्वजनिक लेखा समितिमा सुधीर कुमार पौडेलले र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटाले सपथ लिएका हुन् ।
प्रदेश सभा सुरु भएको ९ महिनापछि सभाका विषयगत समितिले सभापति पाएका हुन् । गत साउन ३० गते सभामुख धितालले समिति गठन गरेका थिए ।
४ दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक एक समिति सभापति लिएका थिए । शनिबार भएको मनोनयनमा एकएक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा भएको थियो ।
सार्वजनि लेखा समिति प्रतिपक्षले पाउने संसदीय अभ्यास अनुसार एमाले सांसद पौडेल निर्वाचित भए भने अर्थ तथा विकासमा कांग्रसका अर्याल र प्रदेश मामिला तथा कानून समितिमा कांग्रेसकै खड्का निर्वाचित भइन् ।
सामाजिक विकास तथा कृषि समितिमा माओवादी कोटामा समाजवादीका फणिन्द्र देवकोटा चयन भएका छन् । बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट उनी माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेका हुन् ।













