काठमाडौँ ।
संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआइपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।













