काठमाडौँ ।
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि मंगलबार बसेको बैठक एक साताका लागि स्थगित भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो ।
तर, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या नपुगेको हो ।
सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक सङ्ख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् ।
यस्तै, एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्यामाथि प्रश्न उठाउँदै सो विधेयकको विषयलाई अघि नबढाउन आग्रह गरे।
सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या यकीन गर्दा गणपूरक संख्या नपुगेको पाइएको थियो । बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र उपस्थित थिए ।
लगत्तै सभामुख घिमिरेले उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव अघि बढाएनन्, कार्यसूचीका अन्य विषय पनि हटाए र प्रतिनिधिसभा बैठक ६ दिनपछि अर्थात् भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी तोकेर स्थगित गरिदिए ।













