काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले आर्थिक सहयोगको नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताएका छन् । एमसीसीमा केही अनुचित कुराहरु बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्दै नेपालले यस्तो बताएका हुन् ।
मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु हुँदैन । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौ’, नेता नेपालले थपे, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’
नेता नेपालले नेपालका कुनैपनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणी मार्फत एमसीसी पास गरेको भन्दै त्यसमा नेपाल कुनैपनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए ।













