कहिले उठ्छ पोखराको फोहोर ?

‘समन्वय भइरहेको छ, फोहोर व्यवस्थापन छिट्टै हुन्छ’ : सरसफाई शाखा प्रमुख बराल

केन्द्रभाग मिडिया

शनिबार परेको पानीले छरपस्ट पारेको फोहोर/ तस्बिर : सुदर्शन रन्जित

पोखरा ।

पोखराको मुख्य चोकहरुमा थुपारिएको फोहोर एक दिन उठाएपछि फेरि पोखरा महानगरभित्रको फोहोर उठन सकेको छैन ।

गत साउन १० गते बुधबारदेखि महानगरले फोहोर उठाउन नसकेपछि स्थानीयले सडक छेउमा लगेर थुपारेको फोहोर शनिबारको वर्षातले सडक र चोकहरुमा फाहोर छरपस्ट पारेपछि महानगरले फोहोर उठाएको थियो । तर उठाएको फोहोर व्यवस्थापन गर्नलाई समस्या भएपछि अहिले फेरि पोखराको फोहोर उठ्न छोडेको छ ।

महानगरपालिकाले वडानम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्दै आएकोमा त्यहाँका स्थानीयले सहमति कार्यान्यन नभएको भन्दै फोहोर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । पुस १५ यता महानगरले लामेआहालमा फोहोर फाल्न थालेको थियो ।

यता पोखराका स्थानीयले ७ दिनदेखी महानगरले फोहोर उठाउन नआएको भन्दै फोहोर सडक छेउ र मुख्यचोकमा राख्दै व्यवस्थापनको लागि महानगरलाई दबाब दिइरहेका छन् ।

पोखरा महानगरपालिका सरसफाई शाखा प्रमुख कल्पना बरालले छिट्टै फोहोर व्यवस्थापन हुने बताइन् । स्थानीयसँग छलफल र समन्वय भइरहेको बताउँदै सहमति जुटे आज भोलिबाटै फोहोर व्यवस्थापन सुरु हुने र स्थानीयको घरबाट फाहोर उठाउने उनले बताएकी छन् ।

फोहोर उठाउन नसक्नु महानगरको बाध्यता भएको बताउँदै प्रमुख बरालले संयमित भएर महानगरलाई सहायता गर्न पोखरेली बासीलाई अपिल गरेकी छन् ।

‘फोहोर उठाउन नसक्नु महानगरको बाध्यता हो । हामीले ल्यान्डफिल साइडका स्थानीयसँग निरन्तर समन्वय गरिराखेको छौं,सम्भवत आज भोलि मै फोहोर व्यवस्थापन सुरु हुन्छ ।’ उनले भनिन्,‘स्थानीयले फोहोर सडक छेउमा ल्याएर थुर्पादा यसले निकै नै दुर्गन्धित देखाएको छ । यसतर्फ हाम्रो ध्यान केन्दित भएको छ ।केही दिन हो फोहोर घरमा नै सुरक्षित तरिकाले होल्ड गरिदिनुस्। हामीले जतिसक्दो छिटो फोहोर उठाउन पहल गरिरहेका छौं।’

फोहोर व्यवस्थापन नहुँदा  महानगरको अक्षमता भन्दै आलोचना भइरहेको छन् नि ? भन्ने प्रश्नमा सरसफाई शाखा प्रमुख बरालले भनिन्, यो महानगरको मात्र असक्षमता होइन सचेत नागरिक हामीले सडकमा फोहोर लगेर थुपार्नु भनेको सम्पूर्ण पोखरेलीकै अक्षमता हो । ’ उनले फोहोर व्यवस्थापन पोखराको मात्र समस्या नभई हरेक स्थानमा हुने गरेको र यो महानगरका लागि चुनौतिपूर्ण बनेको बताईन् ।

शनिबार उठाएको फोहोर कहाँ फाल्ने भन्ने अझै टुंगो नलाग्दा गाडीमै राखिएको उनले बताइन् ।फोहोर बोकेका गाडी महानगरको दमकल शाखाको प्रांगणमा राखिएको उनले जानकारी दिइन्।

महानगरले यसअघि पोखरा–१४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो, अन्तराष्ट्रिय विमानस्थल संचालन पछि पुस १५ गतेदेखी हाल वडा नं. ३२ स्थित लामेआहालमा अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर उठेको थिएन । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् ।

  • १६ श्रावण २०८०, मंगलवार १५:५५ प्रकाशित