व्यवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको : पूर्वराजा

केन्द्रभाग मिडिया

पोखरा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । उनले विगत तीन दशकयताको घटनाक्रमप्रति युवा पिँढीमा चरम बिद्रोहभाव देखिएको बताएका हुन् ।

‘युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम बिद्रोहभाव देखिन थालेको छ’, शाहले सन्देशमा भनेका छन्, ‘यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’

पूर्वराजा शाहले राजनीतिक दलका नेताहरूले आफूसँग केही भद्र सहमति गरेको तर त्यो पालना नगरेकोतर्फ संकेत गरका छन् ।

‘राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारिताको ठूलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ,’ पूर्वराजा शाहले भनेका छन्,‘मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै हो ।’

सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरुको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको पूर्वराजा शाहले बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या बढेको बताएका छन् ।

‘हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरूको आर्थिक कारोबार आम विपन्न वर्गको उत्थानमा परिचालित छैन। सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जनगुनासो सुनिन्छ। उत्पादन, आर्जन एवं समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वाभाविक हो,’ पूर्वराजाको सन्देशमा भनिएको छ,‘युवा पिँढी, विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ। विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरूको चरम विद्रोहभाव देखिन थालेको छ। यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरूत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन।’

हालैका दशकहरूमा जानेर(नजानेर देशका विभिन्न पक्षहरूबाट जे(जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेको र त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरूको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको उनको ठहर छ ।

‘देशलाई थाहा पाई पाई बर्बादीतिर नधकेलौं। नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लागौं,’ सन्देशमा भनिएको छ, ‘सबैमा विगतको कमीकमजोरीप्रति क्षमाशील भावना जागोस्। नयाँ वर्ष २०८० शून्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस्, यही हाम्रो शुभेच्छा हो।’

  • १ बैशाख २०८०, शुक्रबार १०:५६ प्रकाशित