काठमाडौँ ।
नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
बिहीबार बिहान बसेको बैठकमा नेता कोइराला र महामन्त्री थापाले आफुहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउने पक्का भएको ब्रिफिङ गरेका छन् ।
नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफू पक्षीय सांसदहरूको बैठकमा उनीहरुले सो बताएका हुन् । शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री द्वय बद्री पाण्डे, जीवन परियार, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा छ ।
सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ । यसअघि चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भइसकेका छन् ।
अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ ।