सोलुखुम्बु ।
सगरमाथाको खुम्बुमा हिमपहिरो जाँदा तीन जना आरोहीको ज्यान गएको छ ।
आरोहणका क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर ३ जना शेर्पाको ज्यान गएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको ज्यान गएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिएका छन् ।
सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा।लि।बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको आज बुधबार बिहान ज्यान गएको हो ।
बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।