सिंगो देशलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल

केन्द्रभाग मिडिया

बारा ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादव आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार कलैयामा नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकतालाई औंल्याएका हुन् ।

बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटमा नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ । त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्यधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

  • २३ चैत्र २०७९, बिहीबार १५:०६ प्रकाशित