काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्धा हेर्न नमिल्नेमा राखिएको छ । रविलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा हिजो दायर भएको रिट हेर्न नमिल्नेमा परेको हो ।
यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । तर सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गरेका थिए ।
नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी अधिवक्ता सफलले गरेका छन् ।