पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो । सोही रिटमा आज सुनुवाइ हुन लागेको हो ।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ ।
आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकता पेश गरी पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।
अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको छ । नागरिकता दुरुपयोग फौजदारी कसुरअन्तर्गत कारबाही हुने मुद्दा हो ।