पोखरा ।
कास्कीको एक जंगलमा दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
आइतबार घाँस काट्न गएका स्थानीयले रुखमा झुण्डिएको शव देखेपछि जिल्ला प्रहरी कार्यालय कास्कीलाई घटनाबारे सुचना दिएका थिए ।
शवबारे आइतबार राति नै खबर पाएको भएपनि सोमबारमात्रै त्यहाँ पुगेर शवलाई पोखरा ल्याइएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शवको साथमा उनीहरुको नागरिकता, पासपोर्ट लगायतका कागजपत्र भेटिएको छ । कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाएका छन्।
डिएसपी तिवारीको अनुसार उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको तर, भारत नगई पोखरा आएर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
‘असार १४ गतेसम्म उहाँहरु बसेको होटल भेटियो । त्यसपछि उहाँहरु कहाँ बस्नुभयो भन्ने जानकारी छैन,’ डिएसपी तिवारीले भने । उनको अनुसार शव सड्न गल्न थालेको छ । शवको अवस्था हेर्दा घटना केही पुरानो हुनसक्छ तर ठ्याक्कै यति दिन पुरानो शव भन्न सकिन्न ।
‘यो घटना १६, १७ गतेको पनि हुन सक्छ । हामी ठ्याक्कै यति दिन पुरानो शव भन्न सक्दैनौं । तर सडे, गल्न थालेको अवस्थामा भेटिएको छ ।’तिवारीले भने
शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।












