बारामा हतियारधारी लुटेराको समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो।
मध्येरातमा उद्योगमा लुटपाट गर्न पुगेको समुहले प्रहरीमाथि गोली प्रहार गरेको थियो । त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले बताए ।
भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको प्रहरीले जनाको छ । डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भको प्रमुख बोगटीले बताए। उनको टाउकोमा गम्भीर चोट लागेको छ।













