सिरहा ।
सिरहा कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयास गरेका थिए । उक्त घटनापछि थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने अनुमान गर्दै २३ जना कैदीहरुलाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायको निर्देशनअनुसार अघि बढाइनेछ ।
सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना हुँदै आएका छन् । व्यवस्थापनमा कमजोरी र सुरक्षाकर्मीको मिलेमतोका आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ ।












