काठमाडौं ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन तीव्र बनेको छ ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै आरोप लागेपछि अनुसन्धानका लागि बनेको छानबिन समितिको आज बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको छ ।
छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय भएको बताए ।
अर्थमन्त्रालयले मन्त्रालयको फुटेज १३ दिनभन्दा धेरै नरहने भनेपछि संसदमा नै अर्थमन्त्रीको राजीनामा मागिएको थियो । शर्माले राजीनामा दिएर समितिलाई आएर बयान समेत दिइसकेका छन् ।
अर्थमन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बताएको छ ।













