पोखराको गाँठो फुकाउन प्रधानमन्त्रीले बोलाए गण्डकीबाट कांग्रेसका नेता

केन्द्रभाग मिडिया

पोखरा ।
आसन्त स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा सिट बाँडफाड गर्नेक्रममा पोखरामा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशबाट नेताहरु काठमाडौं बोलाएका छन् ।

गण्डकी प्रदेशबाट कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा र कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन् ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सभापतिले सोमबार बेलुका फोन गरेर बोलाएपछि आफूहरु काठमाडौं प्रस्थान गरेको जानकारी दिएका छन् । उनका अनुसार सभापति देउवाले विहान ९ः ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेट्नेगरी नेताहरुलाई बोलाएका हुन् । तर, काठमाडौं पुग्न ढिलाइ भएको सभापति बरालले जानकारी दिए । ‘बिहान ९ : ३० बजे भेट्न भनेर बोलाउनुभएको हो । हामी तीन जना अहिले नौबिसेको उकालो काटेर जाने क्रममा छौं सायद पुगेर भेट्न अझै डेढदुई घण्टा लाग्न सक्छ’ उनले केन्द्रखबरसंग भने ।

सभापति बरालले पोखरामा मेयरको टुंगो लगाउनका लागि नै आफूहरुलाई बोलाइएको हुनसक्ने बताए । ‘काठमाडौं आउ भन्नेभएको छ । पोखराकै विवादलाई मिलाउन बोलाउनुभएको होला । हामी हाम्रा कुरा प्रष्ट राख्छौं’ उनले भने ।

महानगरमा सिट बाँडफाँडको क्रममा पोखरा एकीकृतको समाजवादी र कांग्रेस दुबै दलले दाबी गरेका छन् । आज सहमतिको अन्तिम टुंगो लगाउन भन्दै गठबन्धन दलहरुको बैठक बस्दैछ । उक्त बैठक अगाडि गण्डकीका नेताहरुलाई देउवाले मनाएर सहमति जुटाउने जनाइएको छ ।

  • ६ बैशाख २०७९, मंगलवार १०:३५ प्रकाशित