मतदातालाई लोभ लालच देखाए,धर्म भकाए वा कसम ख्वाए २ वर्ष जेल सजाय !

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नका लागि कुनै पनि किसिमको लोभ लालच देखाए, धर्म भकाए वा कसम ख्वाएमा सजायको व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको हो ।

उक्त निर्देशिकाको दफा ५ मा निर्वाचनमा प्रभाव पारेमा हुने सजायबारे विभिन्न व्यवस्था गरिएको छ । कसैले निर्वाचनमा प्रभाव पार्ने सम्बन्धी कसुर गरेमा कसुरअनुसारको सजाय र सजाय गर्ने अधिकारी समेत तोकिएको छ ।

निर्देशिकाको २ (१) (च) र (छ) मा मतदातालाई कुनै किसिमले लोभ लालच देखाएमा वा आर्थिक प्रलोभन देखाएमा र धर्म भकाएमा वा प्रतिज्ञा गराएमा (किरिया खुवाएमा) एक लाख रुपैयाँसम्म जरीवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यो सजाय तोक्ने अधिकार अदालतलाई दिइएको छ ।

त्यस्तै, सार्वजनिक भोज आयोजना गरेमा र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गरेमा र सार्वजनिक भोजमा सहभागी भएमा पनि दण्डित गर्ने व्यवस्था गरेको छ । यस्तो कसुरमा अदालतले पचास हजार रुपैयाँ जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था निर्देशिकामा गरिएको छ ।

  • ६ बैशाख २०७९, मंगलवार ०८:४० प्रकाशित