पोखरा महानगरमा माओवादी केन्द्रले छान्यो मेयर र उपमेयर

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरमा उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मेयरमा तीन र उपमेयरमा तीन जना सिफारीस गरेको छ ।

महानगर कमिटीको आज बसेको बैठकले पोखराको मेयरका लागि बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गरेको हो । महानगर प्रमुखमा प्रश्तावित गुरुङ पार्टीको कास्की जिल्ला संयोजक हुन्, त्यसैगरी लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् । खड्का जिल्ला तहमा राजनीति गर्छिन् ।

यसैगरी उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

उपमेयरका उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उपमेयरको उम्मेदवार बनेकी थिइन् । त्रिपाठी र तिवारी महानगर कमिटिमा छन् ।

  • ५ बैशाख २०७९, सोमबार १८:२७ प्रकाशित