एमाले पोखराले आकांक्षी सबैको नाम पठाएकोमा नेता अधिकारी असन्तुष्ट

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी पोखरा महानगरमा मेयर र उपमेयरका सबै आकांक्षीको नाम पठाउनु कमजोरी भएको बताएका छन् । इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिएपछि सहमति नगरीकन आकांक्षी सबैको नाम पठाउनु कमजोरी भएको उनले औंल्याए ।

नेपाली बहसका लागि बोल्दै अधिकारीले भने, ‘देशभरि एमालेका उम्मेदवारको नाम सर्वसम्मत भएर नाम आइरहेको छ । काठमाडौं महानगरपालिकाले पनि ५, ६ जनाको नाम पठायो । तर पोखरा महानगर कमिटीले सबै आकांक्षीको नाम पठाएर विवादमा पर्न चाहेन । सक्षमतापूर्वक तीन जना पठाउन सक्नुभएन । आफ्नो काम पूरा गर्नु भएन । इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिनुभयो । कमजोरी रह्यो त्यहाँ । सहमतिका साथ पठाउनुपर्थ्र्यो ।’

आगामी स्थानीय तहको निर्वाचनमा एमाले आफ्नै बलबुतामा अघि बढ्ने उनले बताए । अधिकारीले थपे, ‘देशभरि एमालेको जनलहरले गठबन्धन तरंगित छ । हाम्रो जित सुनिश्चिततातिर बढेको छ । धरहरा, रानीपोखरी निर्माण, उत्तरदक्षिण नाका खुला, विकास र रेलमार्गको सपना देखाउने एमाले नै हो । एमाले जहाँ उभियो, त्यहाँ काम गरेको छ । अघिल्लो निर्वाचनमा तराईमा हामीलाई निषेध गरिएको थियो, अहिले तराईमा भ्याईनभ्याई छ ।’

उनले निर्वाचनका आयोगको निष्पक्षतामा शंका गर्नुपर्ने ठाउँ रहेको आरोप लगाए । अधिकारीले भने, ‘दुई दिन मनानेयन दर्ता, मतपत्रको रंग परिवर्तन, निर्वाचन प्रमुखको अदलीबदलीले निर्वाचन आयोगमाथि प्रश्न उठेका छन् । यसमा सावधान भएर अघि बढ्छौं ।’

  • ५ बैशाख २०७९, सोमबार ०८:१७ प्रकाशित