आचार्यले गरे कांग्रेसबाट जैमिनीको मेयरमा उम्मेद्वारी दिने घोषणा

केन्द्रभाग मिडिया

बागलुङ ।
कांग्रेस नेता हरिप्रसाद आचार्य बागलुङको जैमिनी नगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेविसंघ, तरुण दलमा लागेका बागलुङ जैमिनी नगरपालिका १, कुस्मीसेराका आचार्य आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयरमा उठ्ने घोषणा गरेका हुन् ।

६० वर्षीय उनी दुई महिनादेखि गाउँगाउँ पुगेर भेटघाटमा व्यस्त छन् । बागलुङबाट पढ्न काठमाडौँ पसेका हरिप्रसाद २०५३ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बनेका थिए । उनी अहिले भूगोलको राजनीतिमा सक्रिय हुन प्रयासरत छन् ।

विद्यार्थी कालदेखि नै पार्टीलाई योगदान दिएको, नगरपालिका विकासका योजना भएकाले आफू मेयरको बलियो दाबेदार भएको आचार्यको दाबी छ । उनी भन्छन्, ‘म त्रिचन्द्रमा स्ववियु सभापति भएको मान्छे । तरुण दलमा पनि काम गरेँ । मसँग राजनीतिक अनुभवसँगै नगरपालिकामा जनताले खोजेजस्तै विकास गर्ने योजना छन् ।’

शिक्षा, सडक र स्वास्थ्य पूर्वाधार आफ्नो प्रमुख एजेण्डा हुने उनको भनाइ छ । ‘वडा–वडाका सडक व्यवस्थित बनाउँछु । हरेक वडामा एउटा मुख्य सडक मेरो प्राथमिकता हुनेछ । नगर अस्पताल बनाएर एमडी गरेको डाक्टर ल्याएर स्वास्थ्य पूर्वाधार विकासमा लाग्छु,’ आचार्यले सुनाए ।

गठबन्धन भए पनि गत निर्वाचनमा कांग्रेसले मेयर जितेको र अहिले पनि पाउनुपर्ने अडान स्थानीय कांग्रेस नेताको छ । कांग्रेसबाट एक दर्जन आकांक्षीबीच आचार्य पनि मेयर बन्ने दौडमा लागेका हुन् ।

  • ३ बैशाख २०७९, शनिबार १८:३३ प्रकाशित