कांग्रेस पोखराले माग्यो मेयर/उपमेयरको उम्मेद्वार छान्न आवेदन (यी नेताहरुको चर्चा)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयर उम्मेद्वारको लागि आफ्ना नेता कार्यकर्ताको आवेदन माग गरेको छ । आजबाट भोली (आइतबार) ४ बजेसम्मका लागि इच्छुक नेता कार्यकर्ताले मेयर र उपमेयर उम्मेद्वारका लागि आवेदन दिन सक्ने नेपाली कांग्रेस नगरसमितिका सभापति सुरेन्द्र्रमान विजुक्छेले जानकारी दिए । उनका अनुसार उम्मेद्वार बन्न चाहने आकांक्षीले आफै उपस्थित भएर आवेदन दिनुपर्ने छ ।

गठबन्धनका कारण आवेदन माग्न ढिला भएको र अब ढिलाई गर्न हुन्न भेनर शनिबार देखि आवेदन माग्न सुरु गरिएको सभापति विजुक्छेले बताए । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पोखरामा मेयर नपाउने चर्चासंगै कास्की कांग्रेसका नेता कार्यकर्ता केन्द्रमा शीर्ष नेतृत्वलाई भेटेर दवाव दिन पुगेका थिए ।

केन्द्रमा दवाव दिएसंगै थप दवावका लागि कांग्रेस समितिले मेयर उपमेयरको उम्मेद्वार आह्वान गरेको एक नेताले दाबी गरे । ‘हामीले केन्द्रमा गएर यहाँको बस्तुस्थिति बुझाएका छौं । गठबन्धनमा अन्य दलले नै यहाँको मेयरको टिकट पाउने भन्ने आएपछि नै हामी दबाब दिन काठमाडौं गएको हो । त्यति सकारात्मक जवाफ पाएनौं । अब मेयर उपमेयरमा आवेदन माग्दा झनै दवाव पुगोस् भन्ने पनि हाम्रो उद्देश्य हो’ ती नेताले भने ।

नगरसभापति विजुक्छेले दबाबका लागि भन्दा पनि आफ्नो तर्फबाट पनि तयारी गर्नुपर्ने भएकाले उम्मेद्वार आह्वान गरेको प्रतिक्रिया दिए । ‘गठबन्धनको कुरा एक ठाउँमा छ । गठबन्धन हुन्छ । हाम्रै भागमा मेयर पर्छ भन्नेमै हामी छौं । नेता कार्यकर्ताको आकांक्ष पनि थाहा पाउनुपर्छ र आफ्नो तर्फबाट अब कांग्रेसले ढिलाई गर्न हुन्न भनेर नै हामीले आवेदन आह्वान गरेका हौं । यो दबाव या अन्य कुनै कारणले होइन’ उनले भने ।

सभापति विजुक्छेले बिजुक्छेले आवेदन लिएर सकेसम्म सर्वसम्मत उम्मेद्वार चयन गर्ने पक्षमा आफूहरु रहेको बताए । ‘क–कसको इच्छा छ हामी आवेदन मागेर हेछौं । बसेर सल्लाह गर्छौं अनि सर्वसम्मत उम्मेद्वार तय गछौं । नभए नियमित प्रक्रिया छदैछ,’ उनले भने, ‘हामीले हाम्रो तर्फबाट उम्मेद्वार तयार पार्नुभनेको कसैका लागि दबाव दिन हो भनेर बुझ्नु हुँदैन ।’

पूर्व संघीय मन्त्री देखि प्रतिष्ठित उद्योगपतिसम्म चर्चामा

सक्त गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसबाट पोखरा महानगर मेयरको उम्मेदवारमा पूर्व कर्मचारी, सञ्चारकर्मी देखी बहालवाल र पूर्वमन्त्रीसम्मको चर्चा छ । आकांक्षीको रुपमा चर्चामा रहेका केहीले भने आफु मेयरको दौडमा नरहेको पनि बताएका छन् । चर्चामा रहेका पूर्वमन्त्री यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले मेयर बन्ने आकांक्षा नरहेको बताएका छन् ।

गण्डकी प्रदेश सरकारका बहालवाला मन्त्री बिन्दु कुमार थापा पोखराको मेयरका लागि चर्चामा छन् । कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री थापा आफ्नो इच्छा भन्दा पनि पार्टीले आवश्यकता ठानेमा मेयरमा लड्न सक्ने बताउछन् ।

कांग्रेस कास्कीका निवर्तमान जिल्ला सभापति कृष्ण केसी स्थानीय तहको मिति घोषणा नहुदै देखि नै लबिङ गरिरहेका छन् । नेपाल सरकारका पूर्वसचिव समेत रहेका बाबुराम आचार्य अर्का दाबेदार हुन् । कास्की कांग्रेसका निवर्तमान पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराईले पनि मेयरमा दावी गरेका छन् । भने लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरी मेयरका आकांक्षी छन् ।

कांग्रेस पोखरा महानगर सभापतिमा पराजित पत्रकार गंगाधर पराजुली पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र प्रतिष्ठित औद्योगिक घराना केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसीको नाम चर्चामा छ । महिलाबाट सरस्वती गुरुङ मेयरकी बलियो दाबेदार हुन् । गुरुङ गएको निर्वाचनमा उपमेयरमा पराजित भएकी थिइन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र महानगर पूर्वसभापति वीरेन्द्रनारायण बिजुक्छे पनि मेयरको उम्मेद्वार बन्ने चर्चामा छन् ।

  • ३ बैशाख २०७९, शनिबार १८:०१ प्रकाशित