भरतपुरका कांग्रेस कार्यकर्ताको विद्रोह, सामूहिक राजीनामा घोषणा !

केन्द्रभाग मिडिया

पोखरा ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका दर्जनौं कार्यकर्ताले राजीनामाको घोषणा गरेका छन् । मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका हुन् ।

शनिबार भरतपुर-१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरे । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन् ।

उनीहरूले पार्टीको नेतृत्व सत्तालिप्त भएको आरोप लगाउँदै स्वतन्त्र अभियान चलाउने घोषणा गरेका थिए ।

गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए । उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए ।

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन् ।

शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेले आइतबार बस्ने गठबन्धनको बैठकले महानगरका मेयरको नाम टुंग्याउने दाबी गरेका थिए ।

  • ३ बैशाख २०७९, शनिबार १६:५४ प्रकाशित