कास्कीमा एमाले : रुपामा उम्मेद्वार टुंगियो , माछापुच्छ्रेमा तीन जना सिफारिस, बाँकीमा भद्रगोल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले कास्कीका पाँच वटा स्थानीय तह मध्ये एउटामा प्रमुख र उपप्रमुखको उम्मेद्वारको टुंगो लगाएको छ । रुपा गाउँपालिकामा हालकै गाउँपालिका प्रमुख नवराज ओझा र उप्रमुखमा लाल सुब्बा गुरुङलाई उम्मेद्वार उठाउने निर्णय गरेको हो ।
बाँकी चार वटा पालिकामा भने प्रमुख र उपप्रमुख टुंग्याउने प्रक्रियालाई अगाडि बढाएको भएपनि टुंगोमा भने पु¥याउन सकेको छैन । माछापुच्छ्रे गाउँपालिकामा आन्तरिक मतदानबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ ।

आन्तरिक चुनावबाट अध्यक्षमा विक्रम गुरुङ, लालबहादुर परियार र भगवती गुरुङ लाइ अध्यक्षका लागि सिफारिस गरेको छ । उक्त पालिका उपाध्यक्षमा वृतुमाया तामाङ गुरुङ, पार्वती जिसी र सीता तिवारी सिफारिस भएका छन् ।  अध्यक्षका १० र उपाध्यक्षका ७ आकांक्षीलाई पछि पार्दै माछापुच्छ्रेबाट ३/३ जनाको नाम सिफारिस भएको हो ।

मादी गाउँपालिकाबाट अध्यक्ष तथा उपाध्यक्ष अध्यक्षका लागि आकांक्षी धेरै भएपछि त्यहाँ मतदानबाट टुंगो लगाउने या आकांक्षी सबैको नाम सिफारिस् गर्ने भन्ने निर्णय हुन बाँकी रहेको एमाले नेताहरुले जानकारी दिएका छन् । मादिमा अध्यक्षका लागि विष्णुमाया पौडेल आचार्य, बालकृष्ण गुरुङ, बुद्धिसागर सापकोटा, शिव गुरुङ (महेन्द्र), पसबहादुर बास्तोला (श्याम), जसबहादुर गुरुङ र सुदीप सापकोटा अध्यक्षका आकांक्षी छन् । उपाध्यक्षको लागि निर्मला सुवेदी, प्रतीक्षा पौडेल, राजु अधिकारी, सिर्जना अर्याल र कल्पना गुरुङले आकांक्षा प्रकट गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा पनि आकांक्षीहरु धेरै भएकाले मतदान बाट आकांक्षी टुंग्याउने या सबै आकांक्षीलाई सिफारिस गर्ने भन्ने टुंगो छैन । आइतबारसम्म यसको टुंगो लाग्ने जनाइएको छ । तर उम्मेद्वार छान्न आन्तरिक चुनाव नगर्ने एमाले नेता दामोदर बैरागीले जानकारी दिए । उनका अनुसार नाम फिर्ता लिनेको नाम हटाएर फिर्ता नलिनेको सबैको नाम सिफारिस गरिने छ ।

अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि सुरेन्द्र गुरुङ, सगुन गुरुङ, विष्णु केसी, भरतमान गुरुङ, विवेक देवकोटा, गौरी सुवेदी, रमेश भण्डारी, सोमनाथ पौडेल, हरिकृष्ण भट्टराई, चन्द्रबहादुर गुरुङ र हरि शर्माले आकांक्षा राखेका छन् । उपाध्यक्षमा चन्द्रा अधिकारी, कमला केसी, टंकदेवी सुवेदी र लक्ष्मी अधिकारीले पार्टीमा नाम दर्ता गराएका छन् ।

एमाले पोखरा महानगर कमिटीले मेयर र उपमेयरका लागि दर्ता भएका सबैको नाम जस्ताको तस्तै माथिल्लो कमिटीमा पठाएको छ । मेयर र उपमेयर सिफारिस गर्न आन्तरिक मतदान नगरी उम्मेद्वारी दर्ता भएका सबैको नाम जिल्ला कमिटी कास्कीमा पठाउने निर्णय भएको अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिएका छन् ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार मेयरमा एमालेबाट १२ र उपमेयरमा ९ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । आन्तरिक निर्वाचनबाटमेयर र उपमेयरमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्ने तयारी भएको थियो । तर नेताहरुकै हस्तक्षेप हुनसक्ने भन्दै सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको हो । पोखरामा एमालेको तर्फबाट मेयर र उपमेयरको टुंगो एमाले केन्द्रीय कमिटीले लगाउने छ ।

भूगोलको हिसावले देशकै ठूलो महानगरापालिकामा एमालेको तर्फबाट मेयर उम्मेद्वार छान्न भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम केन्द्रमा पठाइएको छ ।

उपमेयरको उम्मेद्वारका उम्मेद्वार छान्न पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम केन्द्रमा सिफारिस गरिएको छ । उपमेयरमा आकांक्षा व्यक्त गरेका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङ भने उपमेरको आकांक्षा बाट पछि हटेका हुन् ।

 

 

  • ३ बैशाख २०७९, शनिबार ०८:३८ प्रकाशित