नयाँ वर्ष २०७९ सुरु, शुभकामना आदानप्रदान गर्दै मनाइँदै

केन्द्रभाग मिडिया

 

पोखरा ।
आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ ।

पर्यटकीय केन्द्र पोखराको लेकसाईडमा होटल संघ पोखराको आयोजनामा १७ औं संस्करणको नव वर्ष फेवा नववर्ष सडक महोत्सव जारी छ । हिजो सुरु महोत्सवकै बीच मध्येरातमा नेपाली नयाँ वर्षलाई लेकसाईड बाट भव्य स्वागत गरिएको छ ।

नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ । नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लाग्ने गर्दछ । पोखराको तालबाराही र विध्यवासिनी लगायतका विभिन्न मन्दिरमा विहानै देखी दर्शनार्थीहरुको घुँइचो लागेको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

  • १ बैशाख २०७९, बिहीबार ०८:०७ प्रकाशित