पोखरामा गुरुङ समुदायले ट्होटें पर्व मनाए (फोटो फिचर)

केन्द्रभाग मिडिया

पोखरा ।
गुरुङ समुदायको ऐतिहासिक पर्व ट्होटें पोखरामा धुमधामका साथ मनाइएको छ । तमु धिं नेपालको आयोजनामा पोखरामा ट्होटें मनाइएको हो । ऐतिहासिक, साँस्कृतिक एवम् मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको रुपमा गुरुङहरुले ट्होटें पर्व मनाउने गर्छन । वर्षमा दुइपटक साउन र चैत्रमा ट्होटें पर्व मनाउने गरिन्छ ।

वर्षमा दुई पटक चैत्र र साउनको तीन मंगलबार तमु गाउँ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामूहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलबार हरेक वर्ष मनाउँदै आएको छ ।

तमु नास(गाउँ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामूहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो ।

उघौलीको रुपमा मनाइने ट्होटें यस वर्ष पोखरा सभा गृहमा भेला भइ विभिन्न झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभा गृह चोक, लखनचोक, नयाँबजार हुँदै तमु धिं नेपालको प्राङ्गणमा पुगी समारोहमा परिणत भएको थियो ।


समारोहलाई सम्बोधन गदै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङ समुदायको उद्गम स्थल कास्की र लमजुङको सिमानामा पर्ने क्होलासोंथरको विकासका लागि सरकार लागि पर्ने बताए । उनले विविध जात, जाति, धर्म संस्कृतीको संरक्षण र प्रवद्धन गर्ने उदेश्यले गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको जानकारी दिए ।


पौराणिक पर्व ट्होटें गाउँबस्ती र समाजमा अघिल्लता तीन हप्ता विभिन्न तरिकाले मनाए पछि अन्तिम मंगलबार सामूहिक रुपमा तमु धिं नेपालको आयोजनामा मनाइँदै आएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । २०५२ सालदेखि तमु धिंले नेपालले पोखरामा सामूहिक रुपमा ट्होटें मनाउँदै आएको छ ।

  • २९ चैत्र २०७८, मंगलवार १५:१० प्रकाशित