११ उपमहानगरमा कहाँ कसको दाबी ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी छ । निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने बताइरहेका गठबन्धनले अझै सिट बाँडफाँटलाई टुंगो लगाउन सकिरहेका छैनन् । भागबन्डाका लागि आज गठबन्धनको निर्णायक बैठक बस्दैछ ।

हालसम्म ११ मध्ये नौवटा उपमहानगरको भागबण्डामा मोटामोटी सहमति भएको बताइएको छ । दुईवटामा अझै सहमति हुन सकेको छैन । जसमा सबैको दाबी छ ।

अहिलेसम्म कांग्रेसलाई इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी लगभग पक्कापक्की भएको छ । यद्यपि इटहरीमा नेकपा एसले दाबी छाडेको छैन । यस्तै माओवादी केन्द्रलाई जीतपुर सिमरा र घोराही, नेकपा एसलाई हेटौंडा र जसपालाई जनकपुर राखिएको छ ।

धरान र कलैयामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा सबैले दाबी गरेका छन् ।

कहाँ कसको दाबी ?

इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरपालिकामा अहिले कांग्रेससहित माओवादी केन्द्र र नेकपा एसले दाबी गरिरहेको छ । कांग्रेस अघिल्लो निर्वाचनको उपविजेता भएकाले उसको स्वभाविक दाबी रहँदा नेकपा एसले भने एमालेले जितेका ठाउँहरू आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

धरान उपमहानगरपालिका

यो उपमहानरपालिकामा नेपाली कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रले दाबी गरिरहेका छन् ।

कलैया उपमहानगरपालिका

अहिले कलैयामा गठबन्धनका चारवटै दलहरूले दाबी गरिरहेका छन् । कांग्रेस अघिल्लो निर्वाचनमा निर्वाचित भएकाले नै दाबी गरिरहेको छ भने माओवादी केन्द्रले विगतको निर्वाचनभन्दा अहिले आफ्नो शक्ति बढेको तर्क गरेर दाबी गरिरहेको छ । नेकपा एसले विगतमा एमालेको मत आफूतिर आएकाले शक्ति आर्जन भएको भनिरहँदा जसपाको आधारक्षेत्र नै मधेस भएकाले यहाँ दाबी गरिरहेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका

यो उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको दाबी छ । माओवादी केन्द्रले यो उपमहानगरपालिकालाई बटमलाइन बनाइरहेको छ।

जनकपुर उपमहानगरपालिका

यो उपमहानगरपालिकाको गठबन्धनको भागबण्डामा जसपा र कांग्रेसको दाबी छ ।

हेटौंडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिकामा गठबन्धन दलका कांग्रेस र नेकपा एसको दाबी छ ।

बुटवल उपमहानगरपालिका

अहिले यो उपमहानगरपालिकामा कांग्रेस र नेकपा एसले दाबी गरिरहेका छन् ।

घोराही उपमहानगरपालिका

सत्तारूढ गठबन्धनभित्रको भागबण्डामा अहिले यहाँ कांग्रेसले दाबी गरिरहँदा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा राम्रो मत पाएकोले आफूलाई जित्न सहज हुने भन्दै यहाँ दाबी गरिरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका

यो उपमहानगरपालिकामा गठबन्धनको तालमेलको फाइदा उठाएर कब्जा जमाउने कांग्रेसको रणनीति छ भने नेकपा एसको झिनो दाबी छ ।

नेपालगञ्ज उपमहानगरपालिका

यहाँ कांग्रेस र जसपाले दाबी गरिरहेका छन् । यहाँ आंशिक भएपनि आफ्नो प्रभावक्षेत्र रहेकाले भागबण्डामा नेपालगञ्ज आफूले पाउनुपर्ने जसपाको दाबी छ ।

धनगढी उपमहानगरपालिका
यहाँ कांग्रेससँगै माओवादी केन्द्र र नेकपा एसले दाबी गरिरहेको बताइएको छ।

  • २९ चैत्र २०७८, मंगलवार १३:३२ प्रकाशित