पोखरामा १० भाईलाई सम्झँदै नेपालले भने, ‘उहाँहरु नआउँदा त यो उत्साह छ, आएको भए…’

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा आएर विगतमा आफूलाई लामो समय साथ दिएका तर अन्तिममा आफ्नो साथ छाड्दै एमालेमै रहेका १० नेता (१० भाई)लाई सम्झेका छन् । सोमबार साँझ बागलुङ र पर्वतका कार्यक्रम सकेर पोखरा फर्केका अध्यक्ष नेपालले देशभर भएको संगठन विस्तारले आफूलाई उत्साहित बनाएको उललेख गर्दै ‘अझ १० भाईपनि संगै भएकोभए कस्तो हुँदो हो’ भने ।

बागलुङ र पर्वतका कार्यक्रममा उत्सहजनक सहभागिता रहेको भन्दै उनले आफ्नो पार्टीमा देशव्यापी रुपमा आकर्षण बढेको बताए । नेकपा एमाले केपी एण्ड कम्पनीको रुपमा ओलीको एकल स्वामित्वको गुटको रुपमा विकास भएको चर्चा गर्दै उनले ओलीले बैधानिक ढंगले नभई अबैधानिकढंगले दुई तिहाईलाई पाखा लगाएर पार्टी कब्जा गरेको तर्क गरे । ‘हामी दुई तिहाईमा थियौं । मिलेको पार्टीलाई कसैले नसोचेको अदालतले छुट्याइदियो । छुट्टिएपछि पनि ओलीले नीति, विधि र पद्यतिले पार्टी चलाएनन् ।

हरसम्भव प्रयास गरेका थियौं । जव पार्टी नै सिद्धान्त भन्दापनि व्यक्तिको कब्जामा गयो । दक्षिणपन्थी भासमा फस्यो । देशको संविधान र कानून अनुरुप होइन राज्यसत्तालाई गलत ढंगले प्रयोग गर्ने अवस्था आयो । तब नै हामीले कम्युनिष्ट आन्दोलनलाई बचाउन विद्रोह गर्नुपरेको हो ।’

उनले थपे, ‘हिजो पुष्पलालले निर्माण गरेको पार्टीलाई केशरजंगले कब्जा गरेपछि पुष्पलालले विद्रोह गर्नुपरेको होइन ? त्यहीँबाट अगाडि बढाएर कम्युनिष्ट आन्दोलन यहाँसम्म ल्याएको होइन ? अहिले फेरी कम्युनिष्ट आन्दोलनलाई ओलीले दक्षिणपन्थी भासमा लगे । अनि न कम्युनिष्ट आन्दोलनलाई जोगाउन विद्रोह गर्नु परेको हो ।’

अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि गरिएको र कसैले चुनौति दिन्छ भने घण्टौंसम्म बहस गर्न तयार रहेको बताए । उनले कहिलेकाहीँ १० भाईले माधव कम्रेड एमालेमै रहेको भए सबै उल्ट्याई दिन्थ्र्यौं भन्ने गरको प्रसंग कोट्याउँदै एमालेमै आफूहरु रहेको भए झनै कम्युनिष्ट आन्दोलनको बेहाल हुने थियो भनेका छन् ।

‘हेर्नुस् त उहाँहरुको हविगत एमालेमा कस्तो भएको छ ? उहाँहरु हामीसंग भएकोभए अझ कस्तो हुँदो हो ? अझै उहाँहरु भन्नुहुन्छ माधव कम्रेड एमालेमै भएको भए भनेर । अझै कति दक्षिणपन्थी भासमा पुगेको हेर्न र निरिह हुन रहर हो ? हामीले समयमै विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन सफल भएका छौं । नेपालमा कुनै दलले केही गर्छ भने नेकपा एकीकृत समाजवादीले गर्छ भन्ने आशा जनतामा जागेको छ ’ उनले भने ।

  • २८ चैत्र २०७८, सोमबार २२:५३ प्रकाशित