कांग्रेसबाट पोखरा महानगरको मेयरमा मन्त्री देखि पत्रकारसम्म (यी हुन् आकांक्षी)

केन्द्रभाग मिडिया

पोखरा ।

सक्ता गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसबाट पोखरा महानगर मेयरको उम्मेदवारमा पूर्व कर्मचारी, पत्रकार देखी बहालवाल र पूर्वमन्त्रीसम्मको चर्चा छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा मेयरका आकांक्षी भने थपिने क्रम जारी छ ।

आकांक्षीको रुपमा चर्चामा रहेका केहीले भने आफु मेयरको दौडमा नरहेको पनि बताएका छन् । चर्चामा रहेका पूर्वमन्त्री यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले मेयर बन्ने आकांक्षा नरहेको बताए ।

गण्डकी प्रदेश सरकारका बहालवाला मन्त्री बिन्दु कुमार थापा पोखराको मेयरका लागि चर्चामा छन् । कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री थापा आफ्नो इच्छा भन्दा पनि पार्टीले आवश्यकता ठानेमा मेयरमा लड्न सक्ने बताउछन् ।

कांग्रेस कास्कीका निवर्तमान जिल्ला सभापति कृष्ण केसी स्थानीय तहको मिति घोषण नहुदै देखि मेयरको आकांक्षी हुन् । उनले स्थानिय तहको निर्वाचन घोषण नहुदा देखि नै लबिङ गरिरहेका छन् ।

नेपाल सरकारका पूर्वसचिव समेत रहेका बाबुराम आचार्य अर्का दाबेदार हुन् । कास्की कांग्रेसका निवर्तमान पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराईले पनि मेयरमा दावी गरेका छन् । भने लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरी मेयरका आकांक्षी छन् ।

कांग्रेस पोखरा महानगर सभापतिमा पराजित पत्रकार गंगाधर पराजुली पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइ व्यवसायी किरण केसीको नाम चर्चामा छ । महिबाट सरस्वती गुरुङ मेयरकी बलियो दाबेदार हुन् । गुरुङ गएको निर्वाचनमा उपमेयरमा पराजित भएकी थिइन् ।

यस्तै गण्डकी प्रदेश समिति सहमहामन्त्री कोपिला रानाभाट, माया बराल, लक्ष्मी पाण्डे मेयरका आकांक्षी छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र महानगर पूर्वसभापति वीरेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी छन् ।

  • २८ चैत्र २०७८, सोमबार १७:२५ प्रकाशित