तनहुँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउने भएका छन् । स्याङ्जाको कार्यक्रममा सहभागी भएर देउवा तनहुँ आउन लागेको प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका छन् । तनहुँमा देउवा चार कार्यक्रममा सहभागी हुने तालिका छ ।
देउवाले पहिला तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्ने छन् । त्यसपश्चात देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् ।
छलफल कार्यक्रम सकाएर देउवाले आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने बताइएको छ । आज नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम एमालले भने बहिष्कार गर्ने भएको छ । सर्वदलीय समितिले सिफारिस गरेको स्थानविपरीत गाउँपालिकाको केन्द्र कायम गरेर भवन बनाएकाले बहिष्कार गर्ने घोषणा गरेको नेकपा एमाले ऋषिङ गाउँ कमिटीले जनाएको छ।