एमाले प्रवेश गर्दै करिश्माले भनिन् ‘ओलीको भाषण सुनेर थाक्दिन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धर आज औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

पार्टी प्रवेश पश्चात काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओली निकै प्रशंसा गरिन् । उनले आफु ओलीको भाषण सुनेर नथाक्ने बताइन् ।

त्यस्तै उनले एमाले नै रोज्नुको कारणहरु पनि खुलाएकी छिन् । करिश्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी बताइन् ।

यस्तै अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताइन् ।‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु,’ एमालेमा प्रवेश गरिसकेपछि संक्षिप्त मन्तव्य राख्दै उनले भनिन् ।

‘नेता भनेको जनताको पथप्रदर्शक हो,’ उनले भनिन्, ‘त्यो म ओलीजीमा पाउँछु ।’ सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको उनले बताइन् ।

  • ८ चैत्र २०७८, मंगलवार १५:५० प्रकाशित