निर्वाचनका लागि १ लाख म्यादी प्रहरी मागः यस्ता छन् म्यादी प्रहरीले पाउने सेवा सुविधा

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

हिजो (मंगलबार) प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि म्यादी प्रहरी आवश्यक पर्ने भन्दै दरखास्त आह्वान गरेको हो । म्यादी प्रहरी बन्न चाहनेहरुले चैत ६ बाट चैत ११ गते सम्म दरखास्त दिन सक्नेछन् ।

म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइन्छ । साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् ।

सरकारले यसपाली म्यादी प्रहरीमा भर्ना हुनेका लागि सेवा सुविधामा थप गर्ने भएको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह तलब पाउने सरकारले बताएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।

यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ । म्यादी प्रहरीको छनौट प्रक्रिया चैत १५, अन्तिम नतिजा चैत २२ र प्रशिक्षण सुरु चैत २८ देखि हुनेछ ।

  • २ चैत्र २०७८, बुधबार १०:३४ प्रकाशित