काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन्।मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
यस्तै संसद सचिवालयले अधिवेशन अन्त्य भएकाले चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र राष्ट्रियसभाको अनिश्चित बैठकसमेत अन्त्य भएको सांसदहरुलाई जानकारी गराएको छ।
संसदको अधिवेशन अन्त्य भएसँगै प्रतिनिधि सभामा छलफलको क्रममा रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ ।
सरकारले महाअभियोगको प्रस्तावमा छलफल अघि नै अधिवेशन अन्त्य गरेपछि अब महाअभियोगको प्रक्रिया लम्बिएको छ । सम्भवतः सरकारले अब अर्को अधिवेशन स्थानीय तहको निर्वाचनपछि बजेट ल्याउनुअघि मात्र बोलाउने सम्भावना छ ।
आज बुधबारको बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो । छलफलपछि राणाविरूद्धको महाअभियोग प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा जानुपर्ने हुन्थ्यो ।
यस्तोमा राणाविरूद्धको महाअभियोगको प्रक्रिया कम्तीमा २ महिना पर धकेलिएको छ । प्रतिनिधि सभाको दुई तिहाई बहुमतले प्रधानन्यायाधीश विरूद्धको महाअभियोग पारित गर्नुपर्ने प्रावधान छ । तर, सत्ता गठबन्धनसँग अहिले दुई तिहाइ मत छैन । त्यसैले सत्ता गठबन्धनले महाअभियोग पास गराउन भन्दापनि प्रस्ताव लम्ब्याएर प्रधानन्यायाधीश राणालाई बिदा गर्ने नियतले महाअभियोग प्रस्ताव ल्याएको देखिन्छ ।
राणाले ६५ वर्षे उमेर हदका कारण आगामी मंसिर २८ गते अवकास पाउँदै छन् ।फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।