भिजिट भिसामा युएई लगि अलपत्र पार्ने एजेन्टहरुलाई कारबाही हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा युएई लगेर अलपत्र पार्ने व्यक्तिलाई अब कारबाहीको दायरामा ल्याइने भएको छ।

पछिल्लो समय नेपालबाट भिजिट भिसामा युएई जानेहरु अलपत्र पर्न थालेपछि समस्या समाधान गर्नका लागि नेपाल र युएई सहमत भएको छ।

रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई गएर अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको हो ।

युएईको भ्रमणमा पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भएको भेटवार्ता यस्तो सहमति बनेको हो ।

संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रशंसा गरे ।

  • २ चैत्र २०७८, बुधबार ०९:२५ प्रकाशित