काठमाडौं ।
संयुक्त अरब इमिरेट्स(युएई) जाने नेपाली कामदारलाई अब ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निशुल्क हुने भएको छ।
युएईको राजधानी आबुधावीमा सम्पन्न नेपाल(युएई संयुक्त समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । युएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णत निःशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन युएई सहमत भएको हो ।
साथै युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकहरूलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनर्एकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ । पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो ।
बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता युएईले गरेको छ ।