पोखरा वृद्धाश्रमको राजत जयन्ती सुरु, विभिन्न कार्यक्रम गरिने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा वृद्धाश्रमले आफ्नो रजत जयन्ती बृद्धाबृद्धासंग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना भएको पच्चीसौं वर्ष प्रवेशको अवसरमा मंगलबार रजत वर्षको कार्यक्रम शुभारम्भ गरिएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले २५ वटा विरुवामा जलसेचन गरेर रजत वर्ष कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहको अवसरमा वृद्धाश्रमले स्थापना कालदेखि हालसम्म सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा वृद्धाश्रमका पूर्व अध्यक्ष टीकाबहादुर भण्डारीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरियो भने संस्थाका पूर्व अध्यक्ष स्व।वसन्तकेशव पराजुलीकी धर्मपत्नी टंककुमारी पराजुलीलाईपनि सम्मान गरिएको थियो ।

वृद्धाश्रमलाई स्थापना कालदेखि हालसम्म सहयोग गर्नेहरुलाईपनि सम्मान गरिएको छ। कार्यक्रममा विक्रम थकाली, गीता सुवेदी, सावित्री भण्डारी र ज्ञानु सुवेदीसहित करीब ५० जनालाई सम्मान गरिएको हो । उनीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधान, पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलगायतले दोषल्ला, सम्मान पत्र र माला लगाएर सम्मान गरे ।

रजत जयन्तीको अवसरमा वृद्धाश्रमले चैत महिनाभर विभिन्न कार्यक्रम गर्ने भएको छ । वृद्धाश्रमले रजत जयन्तीको अवसरमा प्रदेश स्तरीय ज्येष्ठ नागरिक दोहोरी गीत प्रतियोगिता, ज्येष्ठ नागरिक भजन चुड्का प्रतियोगिता, ज्येष्ठ नागरिक स्याहारकर्ता तालिमलगायतका कार्यक्रम गर्ने वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

उनका अनुसार हाल बृद्धाश्रममा विभिन्न ५५ जना बृद्धबृद्धाले आश्रय लिइरहेका छन् । बृद्धबृद्धाको आवश्यक स्वास्थ्य चेकजाँचका लागि नर्स र डाक्टर राख्न आश्रमलाई समस्या रहेकाले यसको व्यवस्था गर्न अध्यक्ष पराजुलीले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

  • १ चैत्र २०७८, मंगलवार २१:३२ प्रकाशित