काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलनमार्फत चुनाव केन्द्रित अभियान घोषणा गर्ने भएका छन् ।
कांग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔ ‘अभियान घोषणा गर्ने तयारी छ।
आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा कार्यक्रमबारे जानकारी गराउन लागिएको बताए।
कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।