उपाधि लिएर स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम

केन्द्रभाग मिडिया

काठमाडौं।

बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर नेपाली महिला राष्ट्रिय भलिबल टिम स्वदेश फर्किएको छ ।

उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो ।उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले टोलीलाई स्वागत गरेका थिए ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो ।

मन्त्रिपरिषद्को बुधबार भएको बैठकले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कप विजेता नेपाली टिमका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। बैठकले १२ खेलाडीलाई ५–५ लाखसँगै दुई जना प्रशिक्षकलाई जनही ३ लाख र एक जना अफिसियललाई २ लाख दिने निर्णय गरेको जनाइएको छ ।

  • १५ पुष २०७८, बिहीबार १३:२८ प्रकाशित