पोखरा ।
नेपालकी शिर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ्ग र गंगा शर्मा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमिफाइनलमा नेपाल नम्बर १ खेलाडी सलोनीले शर्भानी श्रेष्ठलाई ५–७, ६–३ र ६–० को सेटमा पराजित गर्दै अन्तिममा स्थान बनाएकी हुन् । त्यस्तै गंगाले भगवती विकलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधीका लागि सलोनीसंगको प्रतिस्पर्धा निश्चित गरेकी हुन् ।
प्रतियोगिता अन्तर्गत मेन्स सिंगलतर्फ नेपालका शिर्ष वरियताका प्रणव खनाल तथा दोश्रो नम्बरका प्रदिप खड्का सेमिफाइनलमा पुगे । प्रणवले पोखराका विष्णु नेपालीलाई ४–६, ६–६ र ६–२ को सेटमा पराजित गरेका हुन भने प्रदिपले पोखराकै गोविन्द नेपालीमाथि ६–१, ६–४ को सहज जित निकाल्दै अन्तिम चारमा आफ्नों नाम लेखाउन सके । त्यस्तै, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ७–६, ६–१ ले तथा आरब सम्राट हाडाले नेहाल जंग थापालाई ६–२, ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । फाइनल पुग्न प्रणवले आरबसंग तथा प्रदिपले निशानसंग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको पु्रुष एकलमा निरज थापा, दावा शेर्पा, भिष्म गुरुङ्ग र सन्तोष खत्रीले अन्तिम चारमा स्थान बनाएका छन् । निरजले सिमन्त गुरुङ्गलाई ६–३, ६–३ ले, दावाले सञ्जयकुमार श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्मले नविन श्रेष्ठलाई ६–१, ६–१ ले तथा सन्तोषले जितेन्द्र परियारमाथि ४–६, ७–६ र सुपरटाईमा १०–३ को अत्यन्तै कठिन जित निकालेका हुन् । अब फाइनल पुग्न निरजले भिष्मसंग तथा दावाले सन्तोषसंग प्रतिस्पर्धा गर्नेछन् ।
४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाही, उत्तम लामा, विनोद कायस्थ र विमल गुरुङ्गले सेमिफाइनलको यात्रा तय गरेका छन् । चन्द्रले धरमबहादुर लामिछानेलाई ६–२, ६–३ ले, उत्तमले उत्तम बोगटीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्दा विनोदले निकैनै प्रतिस्प्रधात्मक खेलमा भने शिव सेढाईमाथि १–६, ७–५ र सुपरटाईमा १०–७ को कठिन जित निकाले । अर्को खेलमा विमलले हुम आलेलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
३५ वर्ष माथिको पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले उपाधीका लागि राजु क्षेत्री र सुदर्शन विष्टको जोडीसंग प्रतिस्पर्धा गर्ने भएको छ । भण्डारी जोडीले सिमान्त गुरुङ्ग र भिष्म गुरुङ्गको जोडीलाई ६–७, ६–१ र १०–३ ले तथा राजु जोडीले पोखराका राजन पौडेल र नविन श्रेष्ठमाथि ६–२, ६–२ को नतिजा निकाल्दै फाइनमा स्थान सुरक्षित गरेका हुन् ।