पोखरा ।
नेकपा (माओवादी केन्द्र) को आइतबार देखि सुरु आठौं महाधिवेशनको बन्दसत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ ।
उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका हुन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुनेछ ।
विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।
सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।
नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।