पोखरामा मनाए लिम्बु समुदायले ‘उधौली पर्व’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा उधौली पर्व मनाएका छन् ।

हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पुजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (आईतबार) पर्व मनाएका हुन् ।

उक्त पर्वमा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको आयोजक संस्थाका अध्यक्ष धन बहादुर थेबे लिम्बुले बताए ।

उनले हरेक वर्ष मनाउँदै आएको पर्वमा लिम्बु समुदायका २ सय बढि व्यक्तिको उपस्थिति रहदै आएको जानकारी दिए । ‘घर पूर्व भएपनि काम र रोजगारीको शिलशिलामा पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउदै आएका छौ, अध्यक्ष लिम्बुले भने, ‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी छौ ।’

उनका अनुसार किँरातहरुले उधौली पर्व अन्तवाली छरिसकेपछि मनाउने गर्छन भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।

उनले कास्कीमा लिम्बु समाज स्थापना गरेको ३ वर्ष भएको बताउदै भने ‘यो चुम्लुङ खोल्नुको उद्देश्य भनेको हाम्रो भाषा, लिपी, संस्कृति र च्याब्रुङ (केलाङ) बाजा छ । यसलाई जोगाउनु पर्छ भनेर हो ।’

उनले सो पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको बताए । ‘हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौ, उनले भने, ‘त्यसमा १९ वटा चराको नक्कल गरेर कथा अनुसार नाँच्ने प्रचलन रहेको छ ।’

त्यसैगरी लिम्बु समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताए । उनले यस अघि किराँत भित्र पर्ने सुनुवार तथा राई लगायतले सँगै मनाउदै आएको बताउदै भने, ‘फरक फरक स्थानमा मनाएपनि आफ्नो अपनत्व रहिरहन्छ ।’

उनले एकताको सुत्रमा बाँध्न र पर्व तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित उधौली पर्वको अवसरमा कार्यक्रम आयोजना हुदै आएको बताए ।

त्यसैगरी राधा लिम्बुले आफ्नो जन्मभुमी देखि टाढा रहेर पनि आफ्नो महान चाड मनाउन पाउँदा खुशी लागेको बताईन् । ‘यो ड्रेस सधै लगाउन पाईदैन, यस्तै अवसरमा त हो लगाउने । उनले भनीन्, ‘यो पोशाकको आफ्नै महत्व छ । र यो ड्रेस लगाउँदा छुट्टै आनन्द मिल्छ ।’

  • ४ पुष २०७८, आईतवार १७:०१ प्रकाशित