सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व, यी हुन् काँग्रेसका ८ सहमहामन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा ८ जना निर्वाचित भएका छन् । बिहीबार र शुक्रबार भएको मतगणनामा कांग्रेसका समहामन्त्री पदको आठ क्लष्टरमा ८ जना निर्वाचित भएका हुन् ।

महिला, दलित,आदिवासी जनजाति, थारु, मुस्लिम, पीछडिएका क्षेत्र, खसआर्य र मधेशी क्लष्टरको सहमहामन्त्री पदको मत परिणाम आइसकेको छ । जअनुसार महिलातर्फबाट महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फबाट जीवन परियार, आदिवासी जनजातिबाट भीष्मराज आङ्दाम्बे, थारुतर्फबाट उमाकान्त चौधरी मुस्लिमतर्फबाट फरमुल्लाह मन्सुर, पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे, खसआर्यतर्फबाट किशोरसिंह राठौर र मधेशीबाट महेन्द्र यादव निर्वाचित भएका छन् ।

सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा। शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट उपाध्याय र आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।

बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार विहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् । निर्वाचित भएका यादव, मन्सुर,राठौर र चौधरी देउवा समूहका हुन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ निर्वाचित पाण्डे कोइराला खेमाका हुन् ।

  • ३ पुष २०७८, शनिबार १०:२२ प्रकाशित